काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ ।
मुम्बईमा शुक्रबार राति भएको रोमान्चक खेलमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरातले तेस्रो जित निकालेको हो ।
पन्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातको जितमा सुबमन गिलले ९६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै शाइ सुधर्शनले ३५ रन जोड्दा कप्तान हार्दिक पान्डयले २७ रन बनाए ।
रोमान्चक बनेको खेलको अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यक थियो । अन्तिम ओभरको पहिलो बलमा पान्डय आउट भएपछि राहुल टेवाटिया क्रिजमा आए । ओभरको दोस्रो बलमा उनले १ रन जोडे । तेस्रो बलमा डेभिड मिल्लरले चौका प्रहार गरे भने चौंथो बलमा १ रन जोडेपछि गुजरातलाई दुई बलमा १२ रन आवश्यक भयो ।
स्ट्राइकमा रहेका राहुलले पाँचौं र छैटौं बलमा लगातार छक्का प्रहार गर्दै गुजरातलाई जित दिलाए । उनले ३ बलमा अविजित १३ रन जोडे । मिल्लर ६ रनमा अविजित रहे ।
पन्जाबका कागिसो राबडाले २ तथा राहुल चाहरले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
पन्जाबका लियाम लिभिङस्टोनले ६४ रनको अर्धशतकीय इनिङ खेले ।
शिखर धवनले ३५ रन जोड्दा जितेश शर्माले २३ रन बनाए । राहुल चाहर २२ रनमा अविजित रहे ।
गुजरातका राशिद खानले ३ तथा दर्शनले २ विकेट लिए ।
यस जितसँगै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
गुजरातले ३ खेलमा ६ अंक जोडेको छ ।
पन्जाबको यो दोस्रो हार हो ।
पन्जाब ४ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।