काठमाडौं । प्रथम बिराटनगर मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजबिराज नगरपालिका र जनकपुर उपमहानगरपालिका भिड्ने भएका छन् ।
राजबिराज नगरपालिकाले बिराटनगर महानगरपालिकालाई ४६ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
बैजनाथपुर क्रिकेट रंगशालामा भएको खेलमा १ सय ३८ रनको लक्ष्य पछ्याएको बिराटनगरका १६ ओभर १ बलमा ९१ रन बनाउँदा अलआउट भयो । उसका मिनाश थापाले २८, मुकुन्द यादवले १४ तथा रेवती यादव र सिदान्त लोहनीले सामान १२ रनको योगदान गरे ।
बिराटनगरलाई सस्तैमा समेटन राजबिराजका रोहित सिंहले ४ बिकेट लिए । यस्तै राहुल मण्डल, बिवेक यादव र महवुव आलमले सामान २ बिकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजबिराज नगरपालिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३७ रन बनायो ।
राजबिराजका अमित यादवले २७, रोहन बिकले २०, बिवेक यादवले १६, निरज यादवले १२ रन तथा बिकास दास २४ र महवुव आलमले अविजित ९ रनको योगदान गरे ।
बलिङमा बिराटनगरका दिपेश कंडेलले २ तथा सिद्धान्त लोहनी र मुकुन्द यादवले सामान १ बिकेट लिए ।
खेलमा म्यान अफ द म्याच राजबिराज नगरपालिकाका रोहित सिंह घोषित भए ।
यस्तै शुक्रबार दोस्रो सेमिफाइनलमा जनकपुर उपमहानगरपालिकाले बिरगंज महानगरपालिकालाई ३ रनले पराजित गर्दै फाईनल प्रवेश गर्यो ।
फाइनल खेल शनिबार हुनेछ ।