काठमाडौं । डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल)मा गडी राइडर्सले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गडी राइडर्सले छिटाहा टाइगर्सलाई ६ विकेटले पराजित गरेको हो ।
गडी रंगशालामा ६६ रनको सामान्य लक्ष्य पछ्याएको गडी राइडर्सले मात्र ७ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसको जितमा दिपक पासवानले १२ रन र प्रशान्त यादवले १२ रन बनाए ।
छिटाहा टाइगर्सका प्रवेस कमालीले २ र सोनु मण्डलले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले ११ ओभर ५ बलमा ६५ रन बनाउँदा अलआउट भयो । उसका निरज ठाकुरले सर्वाधिक १८ रन बनाए । यस्तै हिमन्शु शाहले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
टाइगर्सलाई सस्तैमा समेट्न राइडर्सका दिपेश कंडेलले ६ विकेट लिए । उनले ३ ओभर ५ बल बलिङ गर्दै मात्र ८ रन खर्चेर ६ विकेट हात पारे ।
दिपेश खेलका म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा आईतबार दुई खेल हुनेछ । पहिलो खेल भमरी वारियर्स र मधेली च्यालेनजरबीच हुनेछ । दोस्रो खेल छापकी सुपर किङ्स र गडी राइडर्सले खेल्ने छन् ।