काठमाडौं । अष्ट्रेलियन लेजेण्ड शेन वार्नको स्मृतिमा सुरु भएको नेपाल प्रो क्लब च्याम्पियनसिपमा प्रतियोगितामा रुपन्देही-११ ले सुखद सुरुवात गरेको छ ।
भैरहवामा भएको उद्घाटन खेलमा रुपन्देही-११ ले मलेसिया-११ लाई ६ विकेटके पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
१ सय ३२ रनको लक्ष्य पछ्याएको रुपन्देही-११ ले १९ ओभर २ बलमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो । उसको जितमा ओपनर प्रजोल थापाले सर्वाधिक ३८ रन बनाए । उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर देव खनालले ३४ बलमा २ चौका प्रहार गर्दै २२ रन बनाए ।
यस्तै बसिर अहमदले अविजित २७, सन्दीप रजालीले अविजित २४ रन बनाउँदा तुल थापा ७ र सुशान्त थापा ६ रनमा आउट भए ।
मलेसिया-११का भिरन्दिप सिंहले २ तथा मुहमद अमिर र सेइद अजिजले समान १-१ विकेट लिए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया-११ ले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनायो । मलेसिया-११ का ओपनर भिरन्दिप सिंहले ६६ रनको अर्धशतकीय इनिङ खेले । उनले ६३ बलमा ७ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६६ रन बनाए ।
यस्तै सेइद अजिजले २१ बलमा ४ चौका प्रहार गर्दै २५ रन बनाउँदा शर्भिन मुनिएन्डीले २८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
मलेसिया-११ लाई सस्तैमा समेट्न रुपन्देही-११ का कृष्ण कार्कीले ३ तथा बसिर अहमदले २ विकेट लिए । यस्तै अनिल खरेल, दुर्गेस गुप्ता र बिक्रम भुसालले समान १-१ विकेट हात पारे ।
प्रतियोगिताको दोस्रो खेलमा शनिबार (आज) नेपाल पुलिस क्लब र भारतको पुश स्पोर्ट्स दिल्लीबीच हुँदै छ ।