काठमाडौं । बिहीबारको रात पुणेमा सबै ब्याटरहरु रन बनाउन संघर्ष गर्दै गर्दा, प्याट कमिन्स इतिहास रच्न मैदान उत्रिए ।
अष्ट्रेलियन खेलाडी कमिन्सले १४ बलमा अर्धशतक पुरा गर्दै १५ बलमा ५६ रनको अविजित इनिङ खेल्दा कलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियनसलाई पराजित मात्र गरेन कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमानी समेत बराबरी गरे ।
कलकत्ताको जर्सी लगाउनु अघि (अप्रिल ५) सम्म कमिन्सले क्वारेन्टाइनमा बस्दा गल्फ स्विङ गर्दै थिए । त्यसको मद्दत खेलमा समेत उनले उठाए ।
पराजय तर्फ अघि बढ्दै गर्दा डेनियल साम्सलाई एकै ओभरमा ३५ रन प्रहार गर्दा कमिन्सले खेलमा कलकत्ताको भाग्य परिवर्तन गरिदिएका थिए । १५ औं ओभरमा समेत कमिन्सले जस्प्रित बुम्रालाई धुलाई गर्न कुनै कसुर नछाडेपछि उनको पागलपन देखिएको थियो ।
अष्ट्रेलिया टेष्ट टिमको कप्तान समेत रहेका कमिन्स थोरै मध्यका एक खेलाडी हुन् जो बुम्रा माथि हाबी भए, उनले खेलमा बुम्रालाई डिफेन्सिभ बलिङ गर्न बाध्य बनाए ।
कमिन्सले बुम्रालाई १५ औं ओभरमा जसरी मिडविकेटमा छक्का प्रहार गरे, बुम्रा लगत्तै डिफेन्सिभ दिखिए र वाइड योर्करका लागि गए । कमिन्सको दिन रहेको बेला त्यसमा समेत ब्याटको बाहिरि किनारा लाग्दै थर्ड-म्यानको संघर्ष बाबजुद चौका गएपछि कमिन्सलाई कसैले रोक्न नसक्ने देखियो ।
आफ्नो करिअर मध्यको एक उत्कृष्ट इनिङ खेलेका कमिन्सले आफ्नो टिमलाई जित दिलाउँदै म्यान अफ द म्याच घोषित भए । कमिन्सले आफ्नो त्यो प्रदर्शनबाट सबैभन्दा चकित आफै भएको प्रतिक्रिया दिएका छन् ।
'मलाई लाग्छ, मेरो इनिङमा सबै भन्दा चकित म आफै छु । खुसी छु की यस्तो राम्रो भयो । यदि मेरो क्षेत्रमा बल आउँछ भने म ब्याट मच्चाउने सोच थियो । त्यति धेरै भने सोचेको थिइन् ।' कमिन्सले खेलपछि भने, 'म ब्याटिङमा आउँदा खेलको लगभग अन्त्य जस्तै थियो । त्यसैले मेरो सोच बललाई जसरी हुन्छ डोरी बाहिर पठाउनु मात्र थियो । जब मैले बुम्राको ओभर खेल्दै थिए, म जति सक्दो शक्ति लगाएर प्रहार गर्दै थिए र भाग्यले समेत केहि स्थानमा साथ दियो ।'