काठमाडौं । कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
पुनेमा बुधबार राति मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो ।
मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय इनिङ खेले ।
आक्रामक ब्याटिङ गरेका कुमिन्सले १५ बलमा अविजित रहदै ५६ रन बनाए । अविजित रहेका भेन्काटेसले ५० रन जोडे ।
मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २/२ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय इनिङ खेले । तिलकवर्माले अविजित ३८ रन जोड्दा केइरन पोलार्डले अविजित २२ रन बनाए ।
दिवाल्ड ब्रेभिस २९ रनमा आउट हुँदा इशान किशन १४ र कप्तान रोहित शर्मा ३ रनमा आउट भए ।
कोलकत्ताका पाट कुमिन्सले २ विकेट लिए । उमेश यादव र वरुण चक्रवर्तीले १/१ विकेट लिए ।
यस जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकत्ताले ४ खेलमा ६ अंक जोडेको छ ।
मुम्बईको यो लगातार तेस्रो हार हो । मुम्बईले अंक जोड्न सकेको छैन ।