काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच संस्करणको प्रत्यक्ष प्रशारणको लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टेन्डर खुला गरेको छ ।
बीसीसीआईले आगामी पाँच संस्करणका लागि चार फरक श्रेणीमा टेन्डर खुलाएको छ । बीसीसीआईले डिजीटल राइट्स, टिभी राइट्स्, बाँकी विश्वभरको राइट्स र १८ खेलको सामान्य प्रशारणको लागि टेन्डर खुलाएको हो ।
८ टिमबाट १० टिम पुर्याएको बीसीसीआईले खेल थप हुने भएको करण प्रशारणको टेन्डरमा समेत कीर्तिमानी बोली लाग्ने अनुमान गरेको छ । सबै चार प्याकेजको लागि बीसीसीआईले न्युनतम ३५ हजार करोड भारतीय रुपैयाँ तोकेको छ जुन पहिलेको तुलनामा दोब्बर हो ।
बीसीसीआईले खुल्ला रुपमा नयाँ बोलपत्रदाताको लागि ई-अक्सन खुलाएको पहिलो पटक हो । हाल स्टार इन्डियासँग (सन् २०१८ देखि सन् २०२२) टिभी र डिजिटल राइट्स् रहेको छ । उसले ५ वर्षको लागि १६ हजार ३ सय ४६ दशमलब ५० करोड बीसीसीआईलाई तिरेको थियो ।
सन् २०२१ मा आईपीएलको आगामी पाँच वर्षको मिडिया र डिजिटल अधिकारको मूल्य विश्लेषण गर्दा करिब ३६ हजार करोड अनुमान गरिएको थियो ।
त्यसको तीन महिनापछी बीसीसीआईले वास्तविक मूल्याङ्कन गर्दा पूर्व अनुमानित भन्दा १४ हजार करोड बढ्न सक्ने बताएको थियो ।
बीसीसीआईले आगामी दुई महिनामा ई-अक्सन सक्ने समेत बताएको छ । अक्सनका विजेता जारी आईपीएलको समापन लगत्तै सार्वजनिक गरिने छ ।
यस पटक डिसनी स्टार, जी सोनी र रिलायन्सको भायकम १८ ले टिभी राइट्सको लागि बोली लगाउने अनुमान गरिएको छ । बीसीसीआईले डिजिटल राइट्सको लागि एमाजोन प्राइम, मेटा, युटुब लगायत चासो देखाएको बताएको छ ।
सन् २०२३ देखि सन् २०२७ सम्मको आईपीएल मिडिया अधिकारको लागि बीसीसीआईले मार्च २८ बाट टेन्डर खुल्ला गरेको हो ।