काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा अपराजित रहँदै नेपालले उपाधि जितेको छ ।
सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक उपाधि जितेको हो । यस्तै नेपाल टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार ६ जित निकाल्न सफल भएको छ ।
सिरिज जितेपछि बोल्दै कप्तान सन्दीपले भविष्यमा ठुलो सफलताको लागि यो सुरुआत रहेको बताएका छन् ।
'सोचेको जस्तो हामीले सिरिजमा खेलेका छौं । भविष्यमा ठुलो सफलताको लागि यो सुरुआत हो । मलाइ लाग्छ यो राम्रो सफलता हो र यसमा सबै खेलाडीको उत्तिकै योगदान रह्यो,' खेलपछि सन्दीपले भने, 'हरेक खेलमा फरक फरक खेलाडीले प्रदर्शन गर्दै आएको देख्यौं । सबै जना राम्रो आकारमा देखिनु राम्रो हो र सबैजना यहाँ योगदानको लागि तयार हुनुहुन्छ ।'
सन्दीपको कप्तानीमा नेपालले पहिलो पटक घरेलु भूमिमा टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेलेको हो । पहिलो सिरिजमा सन्दीपले उपाधि जित्न सफल भएका हुन् ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअघि नेपाल पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पराजित भएको थियो ।