काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले प्लेयर अफ द सिरिज चुनिएका छन् ।
नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।
सिरिजमा दिपेन्द्रले ५ खेल खेल्दै एक शतकसहित कुल २ सय ५५ रन जोड्दा ७ विकेट लिएका थिए ।
पीएनजीविरुद्ध आज भएको फाइनलमा दिपेन्द्रले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ब्याटिङमा उनले अविजित ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । बलिङमा ४ विकेट लिएका थिए ।
दिपेन्द्र फाइनलको प्लेयर अफ द म्याच समेत चुनिए ।
दिपेन्द्रले सोमबार यसै खेलबाट टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन समेत पूरा गरे ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी बनेका छन् । दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रियको ३४ इनिङ्स खेल्दै १ हजार रन पूरा गरेका हुन् ।
दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् । उनले ३८ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै १ शतक र ५ अर्धशतक बनाएका छन् ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दिपेन्द्रपछि पारस खड्का हुन् । उनले संस्यास अघि ७ सय ९९ रन बनाएका थिए ।
दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् । उनले मलेसियाविरुद्ध १ सय २६ रनको अविजित शतकीय इनिङ खेल्दै नेपाली खेलाडीको उच्च स्कोर बनाएका थिए ।