काठमाडौं । पहिलो संस्करणको प्रधानसेनापति अन्तराष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ ।
नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ७ गते मुस्ताङको जोमसोममा आयोजना हुने जनाएको छ ।
साहसिक खेलकुद अन्तर्गत क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चर प्रतियोगितामा १५ नेपाली र १० विदेशी टिमको सहभागिता रहने नेपाली सेनाका सेनानी तथा रेस डिरेक्टर राजिब चन्दले जानकारी गराए ।
नेपालबाट सहभागी १५ टिम भने छनोट प्रक्रियाबाट सहभागी गराईने चन्दले बताए । चन्दले यसपटक महिला टिमको उलेख्य सहभागिताको आशा राखिएको बताए ।
एक टोलीमा दुई खेलाडी समावेश हुने प्रतियोगितामा सहभागी सबै टिमका खेलाडीले १ सय मिटरको क्लाईम्बिङ, ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी पूरा गर्नु पर्नेछ ।
२७ सय देखि ३२ सयको उचाईमा आयोजना हुने प्रतियोगिताको पुरुषतर्फको विजेताले ३ लाख प्राप्त गर्ने छन् । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख प्राप्त गर्ने सेनाले जनाएको छ ।
महिलाको विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रोले ५० हजार प्राप्त गर्ने छन् । सहभागी सबै टोलीलाई प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताका लागि भोलि शनिबारबाट दर्ता प्रक्रिया खुला हुने सेनाले जनाएको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बैशाख २० गतेसम्म नाम दर्ता गर्न सकिनेछ ।
नेपाली सेनाले हरेक वर्ष एड्भेन्जर स्पोर्ट्सको दुई ठुला प्रतियोगिता गर्दै आईरहेको छ । सेनाले यस अघि दुई पटक राष्ट्रिय स्तरको प्रधानसेनापति हाई अल्टिच्यूड ट्राई एडभेन्चर आयोजना गरिसकेको छ ।
पत्रकार सम्मेलनमा प्रमुख सेनानी उज्वल केसी र महा सेनानी मुनाल बस्नेतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै महा सेनानी बस्नेतले प्रतियोगिता आयोजनाको लागि आवश्यक बजेट नेपाली सेना व्यहोर्ने र प्रायोजकबाट उठाईने बताए ।