पोखरा । नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिपको २० औं संस्करण चैत २३ देखि पोखरामा आयोजना हुने भएको छ ।
कोभिडका कारण विगत २ बर्षदेखि रोकिएको प्रतियोगिता चैत २३ देखि २५ गते सम्म आयोजना हुने भएको नेपाल हवाई खेलकुद संस्था (ना) ले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
यस वर्ष एकुरेसीतर्फको इभेण्टमा मात्र प्रतिस्पर्धा हुने भएको प्रतियोगिता संयोजक बलराम आचार्यले जानकारी दिए । यसअघि क्रसकन्ट्रीतर्फको इभेण्ट गरेको नाले यस पटक भने एकुरेसी तर्फको महिला÷पुरुष तथा टिम तर्फ गरी ७ वटा इभेण्टमा मात्र प्रतिस्पर्धा हुने जनाएको छ । प्रतियोगितामा करिब १ सय जना पाइलटको सहभागिता हुने संयोजक आचार्यले बताए ।
प्याराग्लाइडिङको एक्युरेसीतर्फ सोलो ल्याण्डिङ ओभरअलको प्रथम द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्ने छन् । सोही विधामा महिलातर्फ भने प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने संयोजक आचार्यले बताए ।
त्यसै गरी टिम एक्युरेसी सोलो ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय र तेश्रो हुनेले क्रमशः २०, १५, १० हजार रुपैया पुरस्कार प्राप्त गर्ने भएका छन्। एक्युरेसी टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय र तेश्रो तथा साान्त्वना हुनेले क्रमशः ३०, २०, १०, ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यस्तै एक्युरेसी टिम टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितिय र तेश्रो हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने भएको नाले जनाएको छ । एयर शो (एक्रोबेटिक) तर्फ प्रथम, द्धितीय र तेश्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैया प्राप्त गर्ने छन् भने वेष्ट कस्टयुम (गरुणा फन) तर्फ उत्कृष्ट एक जना खेलाडीलाई १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।
नाको आयोजानमा यस अघि पोखरा र स्याङजाको स्वरेक मैदानमा प्याराग्लाइडिङको प्रि वल्र्ड कप तथा वल्र्ड कप समेत भई सकेको छ । प्रतियोगितामा करिब ५० प्रतिशत व्यवसायिक प्यराग्लाइडिङ पाइलट र सोही संख्यामा सोलो पाइलटहरु सहभागी हुने भएको पुर्व अध्यक्ष एवं प्रतियोगिता निर्णायक समितिका संयोजक योगेश भट्टराईले बताए ।
प्र्रतियोगितालाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा भएको नाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।