काठमाडौं । रोहित पौडेलको कीर्तिमानी शतकका बाबजुद घरेलु भूमिमा नेपाल पपुवा न्युगिनी (पीएनजी) सँग पराजित भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले ६ रनको हार व्यहोरेको हो ।
अन्तिम ओभरसम्म पुगेर नेपाल पराजित हुँदा रोहितको कीर्तिमानी शतकमा मज्जा आएन । खेलपछि रोहित आफैले नतिजा नेपालको पक्षमा नहुँदा शतकको मज्जा नआएको बताए ।
'खेल जितेको भए राम्रो फिल हुन्थ्यो, तर फिनिस गर्न सकेनौं र जित्न सकेनौं ।' खेलपछि रोहितले भने, 'दुई तीन पटक भैसक्यो फिनिस गर्न नसकेको यो त्यसैले शतकको मज्जा आएन ।'
रोहितले खेलमा १ सय २६ को शतकीय इनिङ खेल्दै एकै इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने । उनको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो ।
खेलमा रोहितले १ सय ७ बल खेल्दै ७ चौका र ४ छक्का प्रहर गरे । यस प्रदर्शनसँगै रोहित एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका छन् । रोहित पछिल्लो समय राम्रो लयमा क्रिकेट खेल्दै छन् ।
रोहित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध १ सय ७ रन बनाउँदै शतक प्रहार गरेका थिए ।
२ सय ९३ रनको भेट्टाउन आक्रामक सुरुवात गर्न खोजेको नेपालले पावर प्लेको पछिल्लो तीन ओभरमा ३ विकेट गुमाएपछी दबाबमा आएको थियो । अनिल शाह आठौं देव खनाल नवौं र कुशल भुर्तेल दशौँ ओभरमा आउट हुँदा नेपाल दबाबमा आएको थियो ।
नेपालले पहिलो विकेट ३६ रनमा गुमायो । चार वर्षपछी अन्तराष्ट्रिय क्रिकेटमा कम्ब्याक गरेका ओपनर अनिल शाहले २१ बल खल्दै मात्र ६ रन बनाएर आउट भए । उनले १ चौका प्रहार गर्दा नोरमान भानुअको बलमा सेसे बाउको हातबाट क्याच भए ।
थप ९ रन बनाउँदा नेपालले अन्य २ विकेट गुमायो । राष्ट्रिय टिममा डेब्यु गरेका युवा खेलाडी देव खनाल नोसाइना पोकानाको बलमा हिरी हिरीको हातबाट क्याच हुँदा डक आउट भए । उनले ६ बल खेल्दा खाता खोल्न सकेनन् । लगत्तै अर्को बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३२ रनमा गुमायो । भानुअको बलमा बोल्ड हुनुअघि कुशलले २६ बलमा ६ चौका प्रहार गरेका थिए ।
दिपेन्द्र सिंह ऐरी १५ रन बनाउँदा अमिनीको बलमा जासन किलाको हातबाट क्याच भए । १२ ओभर ३ बलमा ७३ रन जोड्दा ४ विकेट गुमायो ।
निराशाजनक अवस्थामा रोहित पौडेल र आरिफ शेखले कीर्तिमानी शतकीय शाझेदरी गर्दै नेपाललाई बलियो स्तिथिमा पुर्याएका थिए । दुई खेलाडीले २२ ओभरमा १ सय ४ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्तिथिमा पुर्याए । रोहित र आरिफले यसअघि बनाएको आफ्नै शतकीय कीर्तिमान भंग गर्दै एकदिवसीयमा कुनै पनि विकेटको लागि सर्वाधिक रनको साझेदारी गर्न सफल भए ।
शतकीय साझेदारीपछि नेपाल खेलमा हाबी देखियो । तर महत्वपूर्ण साझेदारी गर्दै आरिफ शेख ६४ बलमा २ चौका प्रहार गर्दै ३४ रन बनाएर पेभिलियन फर्किए ।
भिम शार्कीले आक्रामक १७ रन बनाउँदा पवनले ७ रनको योगदान गरे । पवन सर्राफले ७ रन योगदान गर्दा सोमपाल कामी र कमल सिंह ऐरीले अविजित समान १८/१८ रन बनाउँदा नेपाल ६ रनले पीएनजीलाई खेल सुम्पिन बाध्य भयो ।
नेपालले एकदिवसीयमा अन्तराष्ट्रियमा पाएको यो लक्ष्य सर्वाधिक हो । यस्तै नेपाल अहिलो पटक एकदिवशीय अन्तराष्ट्रियमा पहिलो पटक पराजित हुन पुग्यो ।