धनगढी । गण्डकी प्रदेशले मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले उपाधि उचालेको हो ।
उपाधिसँगै गण्डकीले २ लाख प्राप्त गरेको छ । उप–विजेता बनेको कर्णाली प्रदेशले १ लाख पचास हजार प्राप्त गरेको छ ।

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो । ६५ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान ९÷९ रन बनाइन । बलिङ तर्फ कर्णालीकी श्रीमी सिं थारुले ४ विकेट लिइन । उसकी विना थापाले २ र एन्जीला थापाले १ विकेट लिइन ।
त्यस अघि कर्णालीको पारी किरण कुमारी कुँवरले एक्लै सम्हालिन । ६७ बलको सामना गरेकी उनले टिमलाई २९ रनको योगदान दिइन । बलिङ तर्फ गण्डकीका लागि आकृति तिवारीले २ र मनीषा उपाध्याय तथा ज्योत्सनीका मरासिनीले समान १÷१ विकेट लिइन । खेलको प्लेयर अफ दी म्याच गण्डकीकी ज्योत्सनीका मरासिनी भइन ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनीका मरासिनी भइन । उनले नगद २५ हजारसहित ट्रफि प्राप्त गरिन । सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ भइन । उनीहरूले जनही १०÷१० हजार प्राप्त गरिन ।