काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसीको फेब्रुअरी महिनाको लागि प्लेयर अफ द मन्थ जित्न सकेनन ।
अवार्डका लागि दीपेन्द्रसँगै भारतका श्रेयस ऐयर र युएईका भृत्या अरविन्द मनोनयनमा परेका थिए ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार सो अवार्ड ऐयरले जिते ।
ओमानमा सम्पन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका क्रममा दीपेन्द्रले नेपालका लागि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले प्रतियोगिता अन्तर्गत १ सय ५९ रन बनाउनुका साथै ६ विकेट समेत हात पारेका थिए ।
त्यस अघि नेपाल, युएई, ओमान र आरल्यान्ड सम्मिलित चारदेशीय टी–ट्वान्टी सिरिजमा समेत ३ खेलमा १ सय ४२ रन बनाउनुका साथै आयरल्यान्डविरुद्धको खेलमा चार विकेट हात पारेका थिए ।