काठमाडौं । आयोजक बुढानीलकण्ठ उमा कुङफु शाखाले बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ ।
बुढानीलकण्ठले सर्वाधिक १७ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो ।
प्रतियोगिताको सान्डातर्फ पुरुषमा बूढानीलकण्ठका सुरेन्द्र थापा मगर तथा महिलामा गोकर्णेश्वर उमा कुङफु शाखाकी सोनाम डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए ।
सुरेन्द्रले ६०–६५ केजी तथा सोनामले ५०–५५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।
प्याटर्नको पुरुषमा गोकर्णेश्वरका फुर्वा दोङ तथा महिलामा बूढानीलकण्ठकी अन्जली गुरुङ उत्कृष्ट खेलाडी चुनिए ।
फुर्वाले बेर ह्यान्ड स्पर्धामा स्वर्ण जिते । अन्जलीले दोहोरो स्वर्ण जितिन् । अन्जलीले बेर ह्यान्ड र वेपनमा शीर्ष स्थान हात पारिन् ।
उत्कृष्ट चारै जनालाई नेपाल उमा कुङफु संघले खाना÷बस्न सुविधासहित चीनमा निशुल्क प्रशिक्षणका लागि पठाउने नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले प्रतिबद्धता जनाए ।
विजेतालाई पूर्व मन्त्री पार्वत गुरुङ, प्रतियोगिता संयोजक उद्धव थापा मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि प्रतियोगिताको उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठले उद्घाटन गरेका थिए ।
सो अवसरमा डेन्मार्कबाट प्राप्त टाइची प्रशिक्षकको प्रमाण पत्र भाइराजा महर्जन र सान्तारत्न तुलाधरलाई हस्तान्तरण गरिएको थियो ।
बूढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल उमा कुङफु संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा १ सय ३५ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।