काठमाडौं । चौथों राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग चैत ७ गतेबाट सप्तरीको राजबिराजमा संचालन हुने भएको छ ।
राजबिराज नगरपालिकाले आयोजना गर्ने प्रतियोगितामा ५ टिमको सहभागिता रहनेछ ।
टिमको खेलाडीका लागि अक्सन चैत २ मा गर्ने प्रतियोगिता निर्देशक रोशन मण्डलले जनाए ।
राजबिराजको राजरंगशालामा हुने उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहनेछ ।
गत वर्ष दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, पवन सर्राफ, बसन्त रेग्मी, राशिद खान, सिद्धान्त लोहनी, लोकेश बम, महवुव आलम, बिवेक यादव, सुनिल धमला लगायतका खेलाडीको सहभागिता रहेको थियो ।
तेश्रो तेस्रो संस्करणको उपाधि बिवेक यादव कप्तान रहेको बजाज खडक वारिर्यसले हात पारेका थिए भने कुशल भुर्तेलको कप्तानीमा रहेको रुपनी रायर्डस उपविजेता बनेको थियो ।
प्रतियोगिताका लागि हाल सम्म १ सय ६० भन्दा बढी खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
सहभागि फ्रेन्चाइज टिमले जिल्ला बाहिरका ५ खेलाडी राख्न पाउने तथा पाँचै जनालाई अन्तिम ११ मा खेलाउन सकिने नियम रहेको छ ।
कुल १६ जनाको टोली रहने प्रत्येक टिमको मार्कि खेलाडी तथा टिम प्रशिक्षकको चयन समेत गरिनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार पाउने छ ।