काठमाडौं । छैटौं राष्ट्रिय राफ्टिङ तथा दशौँ कायाक स्लालोम च्याम्पियनसिप अन्तर्गत राफ्टिङ स्पर्धाको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको 'ए' टिमले जितेको छ ।
स्प्रिन्टमा १००, हेड टु हेडमा २००, स्लालोममा ३ सय १ र डाउन वाटर रेसमा ३ सय ५० गरी कुल ९ सय ५१ अंकका साथ आर्मीका 'ए' टिम च्याम्पियन बनेको हो ।
दोस्रो भएको नेपाल कायाक क्लबले स्प्रिन्टमा ९२, हेड टु हेडमा १ सय ७२, स्लालोममा ३ सय ५०, र डाउन वाटर रेसमा २ सय ८७ गरी कुल ९ सय १ अंक जोड्यो ।
ह्वाइट वाटर नेपालले स्प्रिन्टमा ८६, हेड टु हेडमा १ सय ६४, स्लालोममा २ सय ७६ र डाउन वाटर रेसमा ३ सय २२ गरि कुल ८ सय ४८ अंकसहित तेस्रो भयो ।
नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ ए चौंथो र बी टिम पाँचौं स्थानमा रह्यो ।
यसैगरी कायक च्याम्पियनसिपमा डम्बरबहादुर पूर्वछानेले पहिलो स्थान हात पारे । यसैगरी मानबहादुर कँडेल दोस्रो र मोहन रानाले तेस्रो स्थान ओगटे ।
प्रतियोगिताको महिलातर्फको कायक च्याम्पियनसिपमा सुष्मा खडेट पहिलो र सुधा राईले दोस्रो स्थान हात पारे । च्याम्पियनसिपमा दुई महिला खेलाडीले मात्रै सहभागिता जनाएका थिए । यसैगरी कायक स्लालम च्याम्पियनसिपमा मोहन रानाले पहिलो स्थान हात पारे । प्रमोद गुरुङले दोस्रो र सुजन तामाङ तेस्रो भए ।
प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुर थापा, नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
नेपाल राफ्टिङ एन्ड क्यानोईङ संघले हिमालयन रिभर गाइड नेपाल र नेपाल एसोसियसन अफ राफ्टिङ एजेन्सिजसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।