काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपली क्रिकेट टिमले आज तेस्रो अभ्यास खेल खेल्दै छ । तेस्रो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसको सामना गर्दै छ ।
नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
श्रीलंका पुलिसविरुद्ध नेपालले ४ खेलाडी परिवर्तन गरेको छ । नेपालले आजको खेलमा लयमा रहेका दिपेन्द्र सिंह ऐरीलाई विश्राम दिएको छ । यस्तै विवेक यादब, ज्ञानन्द्र मल्ल र बिक्रम शोबलाई समेत बेञ्चमा राखेको छ ।
श्रीलंका पुलिसविरुद्ध कमल सिंह ऐरी, करण केसीले र आसिफ शेखले पुनरागमन गर्दा आरिफ शेखले श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै छन् ।
श्रीलंका पुलिसविरुद्ध नेपालको टिममा कप्तान सन्दीप लामिछाने, कारण केसी, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, बिनोद भण्डारी, सगर ढकाल, रोहित कुमार पौडेल, भिम शर्की, पवन सर्राफ र आरिफ शेख रहेका छन् ।
यसअघि नेपालले श्रीलंका नेभीसंग दुई अभ्यास खेल खेलिसकेको छ । दुवै खेलमा नेपालले फराकिलो जित हात पारेको थियो । पहिलो खेलमा १ सय ११ रनले श्रीलंका नेभीलाई पराजित गरेको नेपालले दोस्रो खेलमा ८१ रनले पाखा लगाएको थियो ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत सिरिजको तयारीमा रहेको नेपाल हाल श्रीलंका भ्रमणमा रहेको छ ।
श्रीलंकामा नेपालले श्रीलंकाको प्रथम श्रेणीको क्लबसँग ४ अभ्यास खेल खेल्ने छ ।
श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।
नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।