काठमाडौं । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले ४३ ओभर ४ बलमा अल आउट हुँदै १ सय ९६ रन बनायो ।
श्रीलंका नेभीले टस जितेर पहिले फिल्डिङको निर्णय लिएपछि नेपालले पहिले ब्याटिङमा उत्रिएको थियो ।
नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ऐरीले सर्वाधिक ६३ रन जोडे । यस्तै भिम शार्कीले २८, विवेक यादबले २६, पवन सर्राफले २२ तथा कप्तान सन्दीप लामिछानेले अविजित १४ रनको योगदान गरे ।
अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ज्ञानन्द्र मल्ल १, कुशल भुर्तेल ३, रोहित कुमार पौडेल ८, बिनोद भण्डारी २, बिक्रम शोबले १ र सागर ढकाल ८ रनमा आउट भए ।
यसअघि, सोमबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको थियो ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत सिरिजको तयारीमा रहेको नेपाल हाल श्रीलंका भ्रमणमा रहेको छ ।
श्रीलंकामा नेपालले श्रीलंकाको प्रथम श्रेणीको क्लबसँग ४ अभ्यास खेल खेल्ने छ ।
श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।
नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।