पोखरा । १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितिन् ।
पोखरा रंगशालामा शनिबार बिहान उपाधि जित्ने क्रममा राजपुराले निर्धारित दुरी १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पूरा गरिन् ।
राजपुराले लगातार दोस्रो पटक उपाधि जितेकी हुन् । उपाधिसँगै राजपुराले नगद १ लाख प्राप्त गरिन् ।
एपीएफकी बिन्द्रा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् ।
जुम्लाकी राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डको समयसहित तेस्रो स्थान हासिल गरिन् ।
दोस्रो भएकी बिन्द्राले ७५ हजार र तेस्रो भएकी राममायाले ५० हजार प्राप्त गरेकी छिन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको म्याराथनमा स्वदेशी तथा विदेशी गरि कुल २०१ जना धावकहरुले सहभागिता जनाएका थिए ।