दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्यान्डलाई विशाल अग्रता

काठमाडौं । घरेलु टोली न्यूजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा ३ सय ८७ रनको विशाल अग्रता बनाएको छ ।
दक्षिण अफ्रिकालाई ९५ रनमा समेटेको न्यूजिल्यान्ड पहिलो इनिङ्समा अलआउट हुँदै ४ सय ८२ रन जोडेको छ ।
न्यूजिल्यान्डका लागि हेनरी निकोल्सले १ सय ५ रनको योगदान गरे ।
टम ब्लनडेल ४ रनले शतक पुरा गर्न चुके । उनी ९६ रनमा आउट भए ।
म्याट हेनरी ५८ रनमा अविजित रहे भने निल वाग्नर ४९ तथा कोलिन डि ग्रान्डहोम ४५ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका डुआन ओलिभियरले सर्वाधिक ३ विकेट हात पारे ।
एइडेन मार्कराम, मार्को जानसेन र कगिसो रवाडाले समान दुई–दुई विकेट लिए ।
ग्लेन्टन स्टरम्यानले १ विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो इनिङ्समा ९५ रनमै अलआउट भयो ।
दक्षिण अफ्रिकाका लागि जुबायर हाम्जाले सर्वाधिक २५ रनको योगदान गरे ।
न्यूजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ७ विकेट हात पारे ।
१५ ओभर बलिङ गरेका म्याटले ४ मेडन ओभर फाल्दै २३ रनमात्र खर्चिएका थिए ।
न्यूजिल्यान्डका टिम साउथी, कायल जेमिसन र नेल वाग्नरले समान एक–एक विकेट हात पारे ।