काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले पुनः नेपाल विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेल अघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरे ।
नेपालले आयोजक ओमानविरुद्ध शुक्रबार अल अमेरात क्रिकेट मैदानमा ग्लोबल छनोटको पहिलो खेल खेल्दैछ ।
ओमानविरुद्धको खेल अघि प्रशिक्षक दासानायकेले नेपाल राम्रो अवस्थामा रहेको तथा खेलाडीहरु फर्ममा रहेको बताए ।
‘ब्याटिङमा राम्रो सुधार हुँदैछ । फास्ट बलर र स्पीनरहरु राम्रो अवस्थामा छन् र उनीहरुले योजना अनुसार काम गरिरहेका छन्,’ दासानायकेले थपे ।
उनले ओमानमा भएको चारदेशीय टी–ट्वान्टी सिरिजमा खेलेका तीन खेलले खेलाडीहरुलाई ओमानको कन्डिसन बुझ्न तथा उच्च स्तरको खेलका लागि तयार पार्न मदत गरेको विश्वास व्यक्त गरे ।
‘चारदेशीय सिरिजका खबै खेलमा खेलाडीहरुले राम्रो प्रदर्शन गरे हामी जितको नजिक पुगेका थिए । मलाई खेलको प्रदर्शनबाट कुनै खालको अफसोस छैन । तीनवटा खेलबाट पूरै टिम विश्वस्त भएको छ,’ प्रशिक्षक दासानायकेले बताए ।
कप्तान लामिछानेले विश्वकप छनोटका लागि चारदेशीय सिरिज विश्वकप छनोटको लागि एकदशै महत्वपूर्ण रहेको बताए ।
‘किनभने खेलाडीहरुको व्यक्तिगत प्रदर्शनदेखि लिएर मैदानको अवस्था बुझनसम्म सबैकुरा प्रभावकारी भयो । बलिङ, ब्याटिङ र फिल्डीङ सबैमा विस्तारै सुधार गर्दै गएका छौ । आउने खेलको तयारीका लागि सिरिज एकदशै राम्रो थियो । सिरिजबाट धेरै सकारात्मक कुरा लिन सकिन्छ,’ लामिछानेले बताए ।
कप्तान लामिछानेले नेपाल विश्वकप छनोटका लागि सक्षम रहेको विश्वास व्यक्त गरे ।
‘खेलाडीहरुको प्रदर्शन तथा तीनवटै खेलको आधारमा हामी विश्वकप छनोटका लागि सक्षम छौ जस्तो लाग्छ । सबैको अन्तिम उदेश्य भनेको नेपाललाई विश्वकपमा पुर्याउने नै हो ।’