काठमाडौं । नेपालका बलिङ अलराउण्डर करण केसीले ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट ए गुमाउने छन् ।
नेपाल क्रिकेट संघले चोटको कारण अलराउण्डर करणले विश्वकप छनोट गुमाउने जनाएको छ ।
छनोटका लागि खेल्ने टोलीमा उनी अटाएका छैनन् । उनको स्थानमा फास्ट बलर गुलशन झा ओमान जाने छन् ।
करणले विश्वकप छनोट अघिको चार देशीय टी-ट्वान्टी सिरिज समेत गुमाएका थिए ।
करणले बोकेको चोटबारे क्यानले बुधबार जानकारी गराएको छ ।
नेपाली टोलीको फिजियो बिक्रम न्यौपानेका अनुसार करणले एब्डोमिनल (करङ) मांसपेशीको चोट बोकेका छन् ।
तर, उनको बलिङ गर्ने तर्फको मांसपेशीको चोट नरहेको न्यौपानेले जनाएका छन् ।
करणको चोटबारे दुई हप्तासम्म अनुगमन गरिने छ । त्यसपछि रिहाबको लागि प्रक्रिया अघि बढाइने छ ।