काठमाडौं । भारतीय मुलका प्रशिक्षक रघु राम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ ।
क्यानले आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका लागि श्रीनिवासलाई नियुक्त गरेको हो ।
उनी अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् ।
श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।
नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ ।
ग्लोबल छनोटमा नेपाल रहेको समूह ‘ए’ अन्तर्गतका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म आयोजना हुनेछ ।
यस समूहमा आयोजक ओमानसहित, नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
समूह ‘ए’ अन्तर्गत विभाजन भएको ग्रुप टु मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् ।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।
नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने छ ।
सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।
सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ ।
यस्तै दोसो खेल युएईसँग फेब्रुअरी १२ मा खेल्दा नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ ।
यस सिरिजमा विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिईएको छ ।