काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान जोए रुट सन् २०२१ को आईसीसी पुरुष टेस्ट क्रिकेटर अफ द इयर भएका छन् ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नामावली अनुसार रुटले सो अवार्ड जितेका हुन् ।
रुटले न्यूजिल्यान्डका कायल जामिसन, श्रीलंकाका दिमुथ करुनारत्ने तथा भारतका रविचन्द्रन आश्विनलाई पछि पार्दै टेस्ट क्रिकेटर अफ द इयरको अवार्ड जितेका हुन् ।
रुटले सन् २०२१ मा खेलेका १५ टेस्ट खेलमा १ हजार ७ सय ८ रन जोडे ।
उनले सोही क्रममा ६ शतक समेत प्रहार गरे ।
टेस्ट क्रिकेटमा एक वर्षभित्रमा १ हजार ७ सय भन्दा बढी रन बनाउने रुट तेस्रो खेलाडी बनेका छन् ।
यस अघि मोहमद युसुफ र सर भिभियन रिचार्डसले सो सफलता हात पारेका थिए ।
रुटले १४ विकेट समेत हात पारे जसमा एकै खेलमा ५ विकेट समेत रहेको थियो ।
उनले भारतविरुद्धको पहिलो टेस्टमा २ सय १८ रन समेत बनाएका थिए ।