काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ ।
दोहामा आइतबार भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ४८ रनले हराएको हो ।
यस जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा एक खेल अगाबै २-० ले आफ्नो बनाएको छ ।
अफगानिस्तानले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८९ रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सका स्कट एड्वार्डले ८६ रनको अर्धशतकीय इनिङ्स खेले । बास डी लिडले ३४ रन बनाए ।
अफगानिस्तानका मुजिब उर् रहमानले ४ विकेट लिए । फारिद अहमेदले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो ।
अफगानिस्तानका रहमानउल्लाह गुर्बाजले १ सय ३ रनको शतकीय इनिङ्स खेले ।
यस्तै कप्तान हस्मादउल्लाह शाहिदीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रहमत शाहले ३५ रन बनाए ।
नेदरल्यान्ड्सका फिलिपे र फ्रेड क्लासेनले २/२ विकेट लिए ।