काठमाडौं । नेपाली ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहालले ब्याडमिन्टन एसिया अन्तर्गत एसिया ओलम्पिक प्रोजेक्टको छात्रवृत्ति पाएका छन् ।
नेपाल ब्याडमिन्टन संघले बिहीबार विज्ञप्ति निकाल्दै प्रिन्सले छात्रवृत्ति पाएको जनाएको छ । जस अन्तर्गत उनले वार्षिक ३ हजार अमेरिकी डलर पाउने संघले जनाएको छ ।
यस रकम संघलाई वर्षको अन्त्यमा आउने र त्यस अगाडी उनलाई त्यस बराबर खर्च गरेर संघले विदेशी प्रतियोगिता खेल्न जान सहयोग गर्नु पर्नेछ ।
संघले प्रिन्सलाई जुनियर विश्व वरीयताको शीर्ष स्थान उक्लिएकोमा बधाई समेत दिएको छ ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थान उक्लिएका हुन् ।
यस अघिको वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।
यस्तै संघले उनलाई बढी भन्दा बढी प्रतियोगितामा सहभागिता गराउन राखेप, ओलम्पिक कमिटि, ब्याडमिन्टन एसिया, विश्व ब्याडमिन्टन महासंघसँग छलफल गर्ने जनाएको छ ।
यस्तै संघले महिला खेलाडी रशिला महर्जन पनि यस प्रोजेक्टको छात्रवृत्तिमा रहेको जनाएको छ । महिलातर्फको वरीयतामा रशिला १९ औं स्थानमा छिन् ।