काठमाडौं । हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रयागपोखरी ब्याडमिन्टन क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी सेमिफाईनलमा प्रवेश गरेका छन् ।
पविन र सुरोजको जोडीले साईनोका अभिषेक बोस र सुजन थापाको जोडीलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे ।
उनीहरुले फाईनल प्रवेशका लागि बुटवलका बिश्वास नेपाल र गणेश रायमाझीसँग प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल र रायमाझीको जोडीले आयोजकका बिकास महर्जन र रदीप महर्जनको जोडीलाई २१–१८, १९–२१, २१–५ ले पराजित गरे ।
अर्को खेलमा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै फाईनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र बिशाल खड्कासंगको भेट पक्का गरे ।
विधान र बिशालले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानेको जोडीलाई २१–१३, २१–१७ ले पराजित गर्दै सेमिफाईनल स्थान बनाए ।
हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको महिला यु–१९ तर्फ यङ्गुबहाल युथ क्लबकी रोज पाण्डेले रिभाईभकी अनिता तामाङ्गलाई २१–८, २१–२ ले पराजित गर्दै फाईनल प्रवेशका लागि धादिङ्गकी बविता पुरीसंगको भेट पक्का गरिन् ।
बविताले सिक्सटिन फिदरकी रिहाना शेरचनलाई २१–१९, १७–२१, २१–१६ ले पराजित गरिन् ।
यस्तै, भिन्छेबहालकी कृष्मा बज्राचार्यले फाईनल प्रवेशका लागि बालकुमारी रिमिक्सकी प्राथना देउवासंगको भेट पक्का गरिन् ।
कृष्माले रामेछापकी रिम्शा तामाङ्गलाई २१–९, २१–११ ले तथा प्राथनाले कास्कीकी शितल के.सीलाई २१–७, २१–८ ले पराजित गरेका हुन् ।
पुरुष यु–१९ तर्फको खेलमा बालकुमारी रिमिक्सका आयुश्मान नागरीले आयोजकका बिवेक चौधरीलाई २१–१७, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरे ।
उनले अव सूर्यदर्शन ब्याडमिन्टन क्लबका सन्तोष पनेरुको सामना गर्नेछन् ।
सन्तोषले नव जाग्रिती क्लबका स्वयं मानन्धरलाई २१–१२, २१–१४ ले हराए ।
यस्तै, क्लब सेभेनका डेभिड थापा मगरले आयोजकका निखिल भट्टलाई २१–१९, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।
यसैगरि सिक्सिटिन फिदरका क्षितिज खनाल र कास्कीका बिधान अधिकारीविच भएको खेलमा खनालले बाजी मारे । उनले १६–२१, २१–१४, २१–११ को जित निकालेका हुन् ।