नारायण क्षेत्री ।
पोखरा । दोस्रो टाइगर कप भलिबल प्रतियोगिता आगामी पुषमा आयोजना हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने आमन्त्रिण खुल्ला क्लब च्याम्पियनसिप पुरुष-महिला भलिबल प्रतियोगिता पुस २६ देखि माघ १ गते सञ्चालन हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुृरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लव, हेल्पनेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।
त्यस्तै महिलातर्फ पनि विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लव, सशस्त्र प्र्रहरीबल, न्यु डायमण्ड र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहने छ ।
दोस्रो संस्करणमा आफ्नै महिला टिमलाई मैदानमा उतार्न लागेको टाइगर ग्रुप टिमको नेतृत्व राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले गर्नेछिन् ।
यस पटक पुरस्कारको राशीमा पनि वृद्धि गरिएको छ । पुरुष-महिला उपाधि विजेता टिमले समान ३-३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५-२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई समान १०-१० हजारसहित ट्रफी प्रदान गरिने ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।
यो संस्करणमा दर्शकहरुको सुविधाका लागि फोल्डिङ मञ्चका साथै १५ हजार दर्शक क्षमताको प्यारापिट समेत निर्माण गरिने प्रतियोगिताका संयोजक शिव श्रेष्ठले जानकारी दिए ।
यसपटक विदेशी खेलाडीलाई भित्रयाउन पाउने प्रावधान समेत खुल्ला गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै ग्रुपका अध्यक्ष शर्माले कोरोनाका कारण लामो समयदेखि स्थगित खेलकुदका गतिविधिहरु यो प्रतियोगिता पश्चात चलायमान हुनुका साथै खेलाडी र खेलप्रेमी समेत उत्साहित हुने बताए ।
प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, पश्चिमाञ्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल भलिबल संघ र जिल्ला भलिबल संघ कास्की लगायत विभिन्न संघ संस्थाले सहयोग गरेका छन् ।