काठमाडौं । धर्मस्थली तेक्वान्दो डोजाङकी सुमिस्ता तामाङ र आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ की पुनम खत्रीले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको महिला ४५–४७ केजीमा सुमिस्ताले आयोजक ‘बी’ की नानु सुनार तथा ३६–३९ केजीमा पुनमले दीलिप स्मृति तेक्वान्दो डोजाङकी रोजिना तामाङलाई फाइनलमा पराजित गरे ।
पुरुषतर्फ १९ केजीमुनि आयोजक ‘बी’ का सजन लामा, २०–२२ केजीमा आयोजक ‘ए’ का आरुस राई, २२–२४ केजीमा रोकन कामत केवत, २४–२७ केजीमा ढल्कु तेक्वान्दो डोजाङका रिडम बिसी र २७–३० केजीमा आयोजक ‘बी’ का सुशान्त भुजेलले पहिलो स्थान हात पारे । महिला २०–२२ केजीमा दीलिप स्मृतिकी कृपा गौतम तथा २५–२७ केजीमा द गुर्खाकी प्रिस्का मगरले स्वर्ण जिते ।
दुईदिने प्रतियोगितामा १ सय ४० खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक डोजाङका प्रमुख सुरेश मानन्धरले जनाएका छन् ।