काठमाडौं । काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने कर्पोरेट टिमको नाम सार्वजनिक गरिएको छ ।
आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपमा सहभागिता जनाउने आठ टिमको नाम सार्वजनिक गरेको हो ।
च्याम्पियनसिपमा कुमारी बैंक, कान्तिपुर पब्लिकसन, आईएमई ग्रुप, सिल्क ग्रुप, नेपाल आयल निगम, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको कर्पोरेट टिम रहेका छन्।
यस्तै आठ कर्पोरेट टिमले शीर्ष वरीयताका महिला र पुरुष खेलाडी समेत अनुबन्ध गरेको छ । आठ टिमले गोलापर्थाबाट खेलाडी छनोट गरेको हो ।
कुमारी बैंकमा सुदिप शेढाई र सुनैना मुखिया अनुबन्धित भएका छन् ।
दिपेश धामी र अमिता गिरि नेपाल राष्ट्र बैंकमा अनुबन्धित भएका छन् ।
कान्तिपुरमा साजन कृष्ण ताम्राकार र सम्झना शर्मा अनुबन्धित भए ।
आईएमईमा नविन श्रेष्ठ र नङशल तामाङ अनुबन्धित भए ।
सिल्कमा बिकाश श्रेष्ठ र अनु माया राई अनुबन्धित भएका छन् ।
नेपाल आयल निगममा बिष्णु कटवाल र रशिला महर्जन अनुबन्धित भएका छन् ।
नेपाल टेलिकममा रत्नजित तामाङ र सिमा राजवंशी अनुबन्धित भएका छन् ।
यस्तै नेपाल विधुत प्राधिकरणबाट दिपक बोहरा र सोभा गौचनले खेल्ने छन् ।
च्याम्पियनसिप आगामी पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुनेछ ।
च्याम्पियनसिपमा मेन्स सिंगल्स, वुमेन्स सिगल्स, कर्पोरेट डबल्स, मेन्स डबल्स र बुमेन्स डबल्स गरी पाँच इभेन्ट्स समावेश गरिएको छ ।
विजेता टिमका खेलाडीले ७५ हजार उपविजेताले ६० हजार, तेस्रो हुनेले ५५ हजार र चौथो स्थान हात पार्नेले ४७ हजार ५ सय नगद प्राप्त गर्नेछन् ।
त्यसैगरी वरीयता प्राप्त खेलाडीलाई दर्ता हुनेवित्तिकै २० हजार दिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्याच फि बापत २ हजार ५ सय प्रदान गरिनेछ ।
च्याम्पियनसिपका लागि ४९ लाख ४६ हजार खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।