काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि नेपाली पुरुष टोलीले तयारी गरिरहेको छ ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाली टोलीलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण गराईरहेका छन् । उनलाई प्रशिक्षक प्रज्वल बहादुर सिंहले सघाईरहेका छन् ।
ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म चल्ने तालिका रहेको छ । नेपाली टोलीको प्रशिक्षणमा १६ खेलाडी रहेका छन् ।
नेपाली टोलीले यस पटक पदक जित्ने योजना बनाएको छ । तर, प्रशिक्षक एबिङ पदक ल्याउन सहज नभएको बताउछन् । पहिले लक्ष्य पूरा गर्न वास्तविकता ठम्याउन सक्नुपर्ने प्रशिक्षक एबिङको भनाई छ ।
'खेलाडीहरुको सपना छ र त्यो सपना भनेको पदक जित्नु हो । तर यो लक्ष्य कतिको वास्तविकता हो भनेर हामीले ठम्याउन सक्नुपर्छ नत्र निराशा हात लाग्छ,' एबिङ भन्छन्, 'सबैभन्दा पहिला आफूले राम्रो प्रदर्शन गर्न सक्नुपर्छ ।'
प्रशिक्षक एबिङ दोस्रो पटक नेपाली टोलीलाई प्रशिक्षण दिन नेपाल आएका हुन् । यस अघि एबिङले २०१९ मा नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक एबिङले टिममा फिटनेस समस्या देखिएको र त्यसमा काम गरिरहेको समेत बताए ।
'तयारी धेरै राम्रो चलिरहेको छ । राम्रो मानसिकता रहेको छ । सुरुवातमा मलाई केही एडजस्टमेन्ट गर्नुपरेको थियो । खेलाडीहरुमा फिटनेसको समस्या थियो,' एबिङले भने, 'दुई वर्ष पहिला जस्तो फिटनेस थिएन किनभने कोरोना भाइरस तथा एक वर्षको लकडाउनका कारण उनीहरुमा फिटनेस समस्या देखिएको थियो । उनीहरुले अहिले एडजस्ट गरिसकेका छन् र राम्रो गरिरहेका छन् । हामी प्रतियोगिता खेल्नका लागि तयार छौ ।'
नेपाल भलिबल संघले सेन्ट्रल जोनका लागि सुरुआतमा २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । त्यसपछि संघले ४ खेलाडी बाहिर राख्दै १६ सदस्सीय टिम बनाएको छ ।
संघले अर्को हप्ता प्रतियोगिता खेल्ने टिमको घोषणा गर्नेछ ।
प्रशिक्षक एबिङले नेपाली टोली स्किलफूल र मानसिक रुपमा बलियो रहेको बताउँछन्।
'खेलाडीहरु राम्रो स्किल, स्किलफुल खेल्ने छन् । राम्रो मानसिकता र खेलाडीहरुमा उत्साह छ । टिम छिटो खेल्न सक्छ, र यसलाई हामीले प्रयोग गर्नुपर्छ ,' उनी भन्छन् ।