काठमाडौं । नेपाली पुरुष भलिबलमा स्पाइकर मान बहादुर श्रेष्ठको लोकप्रियताको बारे चर्चा गरिरहन पर्दैन । तर, मान बहादुरले पछिल्लो तीन वर्ष धेरै उतारचढाब भोगे ।
यस अवधिमा विभागीय कारबाहीसँगै राष्ट्रिय टिमबाट खेल्ने अवसरबाट समेत बन्चित भए ।
२०७६ को बैशाखमा लुम्बिनी प्रदेशमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । तर, त्रिभुवन आर्मी क्लबमा मान बहादुरले आठौं खेल्न पाएनन् ।
क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिताको लागि जापान गएको भन्दै आर्मीले उनलाई टिममा सामेल गरेको थिएन । त्यस समय उनी टिमका कप्तान थिए ।
आठौं राष्ट्रिय खेलकुद नखेलेपछि नेपाल भलिबल संघले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) र एभिसी सेन्ट्रल जोन खेल्ने टिममा मान बहादुरलाई राखेको थिएन् । १३ औं सागमा उनले बिच भलिबलबाट नेपालको प्रतिनिधित्व गर्न भने पाएका थिए ।
यतिबेला पुरुष भलिबल टिमले बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको छ ।
नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङको नेतृत्व नेपाली टिमले तयारी गरिरहेको छ । प्रशिक्षणमा रहेका १६ सदस्सीय टोलीमा मान बहादुर समेत अटाएका छन् । तीन वर्षपछि राष्ट्रिय टोलीमा पर्दा मान बहादुर हर्षित छन् ।
'तीन वर्षपछि ६-६ जनाको भलिबलमा फर्किन पाउँदा एकदमै खुशी छु । यो प्रतियोगितामा सहभागिता गराएको कारण हामीले खेल्न पाएका छौँ । जसको लागि संघलाई धन्यवाद,' प्रतियोगिताका लागि महेनत गरिरहेका मान बहादुरले भने, 'खेल्न पाउँदा एकदमै हर्षित छु ।'
मान बहादुरलाई यस पटक आफुलाई प्रमाणित गर्ने अवसर छ । त्यसका लागि मान बहदुर तयार समेत छन् ।
'नेपालमा भएको सेन्ट्रल जोन र साग गेम्स गुमाएको थिए । तर, सागमा बिच भलिबल खेलेर बिर्सिए । सेन्ट्रल जोन म बूढो भएपनि बिर्सन सक्दिन,' मान बहादुरले थप्छन्, 'यस पटक खेलमा मान बहादुर हुँदा र नहुदाको परिवर्तन देखाउन चाहन्छु ।'
ढाकामा आयोजना हुने सेन्ट्रल जोन आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।
यस प्रतियोगितामा नेपालले पदक जित्ने लक्ष्य बनाएको समेत मान बहादुर बताउछन् ।
'टिम र मेरो लक्ष्य भनेको पदक ल्याउने हो । कसरि हुन्छ पदक ल्याउने हो । मेरो लक्ष्य पदक टच गर्ने भित्रि लक्ष्य छ,' उनी भन्छन् ।
आयोजक र माल्दिभ्सलाई हराउँन सकेमा नेपालको लागि पदक टाढा नरहेको उनले बताए ।
'हामीले खेल्दा बंगलादेश र माल्दिभ्सलाई जितिरहेको हो । त्यो दुबैलाई जित्यौं भने पदक टाढा छैन,' उनले भने, 'अहिले श्रीलंका थपिएको छ । एसियन गेम्समा श्रीलंकासँग पनि प्रतिस्पर्धात्मक भएर हरेक छौँ । नेपालसंग खेल्दा श्रीलंकालाई डर हुन्छ ।'