काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्येबाट ५ प्रशिक्षकको अन्तर्वार्ता लिएको छ ।
क्यानको पाँच सदस्यीय छनौट समितिले अन्तिम चरणमा ५ जनाको अन्तर्वार्ता लिएको हो ।
क्यान स्रोतका अनुसार पाँच प्रशिक्षकमा मोन्टी देशाई, पुबुदु दसानायके, असन्था गुरुसिंगे, रुवान काल्पेज र ग्रान्ट ब्राडवर्न रहेका छन् ।
क्यानले यि पाँचमध्ये एक जनालाई मुख्य प्रशिक्षक नियुक्ति गर्ने छन् ।
नेपाली क्रिकेट टिमको सम्भावित पाँच मुख्य प्रशिक्षकको इतिहास कस्तो छ ?
मोन्टी देशाई
देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट भएका थिए । त्यस भन्दा अगाडी देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरे ।
वेस्ट इन्डिजका ब्याटिङ प्रशिक्षक रहिसकेका देशाईले यस अघि क्यानाडाको मुख्य प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन् ।
पुबुदु दसानायके
दसानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । नेपालले पहिलो पल्ट सन् २०१५ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेल्दा दसानायके नै नेपालका मुख्य प्रशिक्षक थिए ।
दसानायकेलाई नेपालका एक सफल प्रशिक्षकको रुपमा लिइन्छ । दासानायकेले नेपालबाहेक क्यानाडा र अमेरिकाको मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
असन्था गुरुसिंगे
असन्था श्रीलंकाका पूर्व क्रिकेटर हुन् । असन्थाले श्रीलंकाका लागि ४१ टेस्ट र १ सय ४७ एकदिवसिय खेलेका छन् । सन् १९९६ मा श्रीलंकाले विश्वकप जित्दा असन्था टोलीका मुख्य सदस्य थिए ।
क्रिकेट अष्ट्रेलियाको लागि कन्सट्यान्ट रिजनल क्रिकेट प्रशिक्षकको रुपमा काम गरेका असन्थाले श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमको म्यानेजर समेत बन्ने अवसर प्राप्त गरेका छन् । उनी सन् २०२० मा नाईजेरियाका मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
ग्रान्ट ब्राडवर्न
ब्राडवर्न न्यूजिल्यान्डका पूर्व क्रिकेटर तथा प्रशिक्षक हुन् । स्कटल्यान्डको मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका ब्राडवर्नले पाकिस्तानको फिल्डिङ प्रशिक्षक समेत रहिसकेका छन् । उनले न्यूजिल्यान्डका यू–१९ टिमका मुख्य प्रशिक्षकको रुपमा काम गरेका छन् ।
रुवान काल्पेज
रुवान काल्पेज पूर्व श्रीलंकन क्रिकेटर हुन् । काल्पेजले बंगलादेशको सहायक प्रशिक्षक तथा स्पीन बलिङ प्रशिक्षकको रुपमा काम गरेका छन् । उनले बंगलादेश नेशनल क्रिकेट एकेडेमीको हाई पर्फमेन्स हेड कोचको रुपमा समेत काम गर्ने अवसर पाएका थिए ।