काठमाडौं । प्रदेश नं. १ लाई पराजित गर्दै गण्डकी प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्भावना कायमै राखेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार प्रदेश १ लाई १ विकेटले पराजित गर्दै गण्डकीले फाइनलको सम्भावना कायमै राखेको हो ।
गण्डकीले ६ मध्ये ३ खेल जित्दै ६ अंकसहित तालिकको तेस्रो स्थानमा उक्लिएको छ ।
६ मध्ये ५ खेल जित्दै फाइनल प्रवेश गरिसकेको लुम्बिनीको १० अंक छ ।
यता ५ मध्ये ३ खेल जितेको सुदुरपश्चिम प्रदेशले ६ अंक जोडेपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।
सुदुरपश्चिमले शुक्रबार बागमती प्रदेशविरुद्ध खेल्नेछ र यही खेलको नतिजाले गण्डकी र सुदुरपश्चिमको आगामी यात्राको टुंगो लगाउनेछ ।
गण्डकीसँग पराजित भएको प्रदेश १ ले पनि ६ मध्ये ३ खेल जित्दै ६ अंक जोडेपनि रनरेटका आधारमा गण्डकी प्रदेशपछि चौथो स्थानमा झरेको छ ।
तेस्रो खेल जित्न प्रदेश १ ले दिएको १ सय ३४ रनको लक्ष्य गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
गण्डकीलाई जित दिलाउन अर्जून कुमालले सर्वाधिक ३५ रन जोड्दा दिपक डुम्रेले ३३ रन बनाए । मिलन क्षेत्रीले २४ रनको योगदान गरे ।
प्रदेश १ का दिपेश कँडेलले सर्वाधिक ४ विकेट हात पारे ।
लभ कामतले ३ तथा अभिनय राजवंशी र श्रवन किस्कुले एक–एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश १ ले ४४ दशमलब ४ ओभरमा सबै विकेट गुमाउदै १ सय ३३ रन जोडेको थियो ।
प्रदेश १ का लागि दिपेश कँडेलले सर्वाधिक ४६ रन जोडे । दिपेशले १ सय १३ बल खेल्दै चार चौका र एक छक्का हिर्काएका थिए ।
दिपक जोशी १६ तथा विवेक आनन्द मेहता १४ रनमा आउट भए ।
गण्डकीका लागि कमल परियारले सर्वाधिक ३ विकेट हात पारे ।
सुदिप अर्यालले २ तथा किरण पौडेल, सुवास भण्डारी र विष्णु पाण्डेले एक–एक विकेट लिए ।