काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) लाई स्पष्टीकरण बुझाएका छन् ।
राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीले स्पष्टीकरण बुझाएका हुन् ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले खेलाडीले दोस्रो पटक स्पष्टीकरण बुझाएको र त्यसमा अध्ययन गर्न बाँकी रहेको बताए।
'खेलाडीबाट स्पष्टीकरण आईसकेको छ । तर, स्पष्टीकरणको अध्ययन गर्न बाँकी रहेको छ,' खेलपाटीसँग मल्लले भने ।
क्यानले चार खेलाडीसँग दोस्रो पटक स्पष्टीकरण मागेको हो ।
खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नआएको र क्यानलाई नै दोषी देखाएको कारण फेरि स्पष्टीकरण मागिएको क्यानले जनाएको छ ।
सेन्ट्रल कन्ट्रयाक्टको विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएको कारण देखाएर खेलाडीसँग स्पष्टीकरण मागेको हो ।
क्यानको सेन्ट्रल कन्ट्रयाक्टको विषयमा खेलाडीहरुले असन्तुष्टि पोख्दै आएका छन् । अधिकांस खेलाडीले सेन्ट्रल कन्ट्रयाक्ट सम्झौतामा हस्ताक्षर गरेका छैन् । जसको कारण क्यानले सेन्ट्रल कन्ट्रयाक्टको सूची सार्वजनिक गर्न सकेको छैन ।
क्यानले गत वर्षबाट राष्ट्रिय टिमका खेलाडीलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्ट दिदै आएको छ ।
वर्गीकरण अनुसार 'ए' श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, 'बी' श्रेणीकाले ४० हजार र 'सी' श्रेणीका खेलाडीले ३० हजार मासिक पाउँदै आएका छन् ।