काठमाडौं । कर्णाली प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ माथि दुई विकेटको संघर्षपूर्ण जित दर्ता गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा ४६ रनको लक्ष्य पुरा गर्न कर्णालीले ८ विकेट गुमाउनु पर्यो ।
कर्णालीले १३ दशमलब ३ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
कर्णालीविरुद्ध पराजित भएसँगै प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश २ ले ६ मध्ये दुई खेलमात्र जित्न सक्यो ।
यता यस अघि नै प्रतियोगिताबाट बाहिरिएको कर्णालीले पनि ६ मध्ये दुई खेलमा जित हात पार्दै प्रतियोगिता टुंग्याएको छ ।
कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे ।
प्रदेश २ का राजेश यादवले सर्वाधिक ६ विकेट हात पारेपनि जितका लागि पर्याप्त भएन ।
विवेक यादवले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले १३ दशमलब ४ ओभरमा अलआउट हुदै केवल ४५ रन जोड्न सक्यो ।
प्रतियोगितामा यो दोस्रो सर्वाधिक कम योगफल हो ।
सबैभन्दा कम रन भने गण्डकी प्रदेशले लुम्बिनी प्रदेश विरुद्ध बनाएको थियो ।
गण्डकीले लुम्बिनीविरुद्ध केवल २३ रनको योगफल तयार पारेको थियो ।
बिहीबारको खेलमा प्रदेश २ का सन्नी साहले सर्वाधिक १२ रन जोडे भने सन्तोष कार्कीले ११ रन बनाएका थिए ।
पाँच खेलाडी शुन्य रनमै आउट भए ।
कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट चटकाए ।
अनुज चनाराले २ विकेट लिए ।