काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्ये ५ जनाको अन्तर्वार्ता लिएको छ ।
क्यानको पाँच सदस्यीय छनोट समितिले अन्तिम चारणमा बुधबार ५ जनाको अन्तर्वार्ता लिएको हो ।
क्यानले अन्तिम चरणमा ७ प्रशिक्षकको अन्तर्वार्ता लिने निर्णय गरेपनि दुई जना अन्तर्वार्तामा नआएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी गराए ।
मल्लका अनुसार क्यानले बिहीबार नै अन्तर्वार्ता लिएका प्रशिक्षकहरुको नामावली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पठाउने भएको छ ।
क्यानले आईसीसीसँगको छलफलपछि मुख्य प्रशिक्षक नियुक्त गर्नेछ ।
‘दुई तीन दिनभित्रै प्रशिक्षकको नाम सार्वजनिक गरिनेछ ।’ मल्लले भने ।
यस अघि क्यानले १५ जनाको अन्तरवार्ता लिने तयारी गरेको थियो तर समितिले ७ जनाको अन्तर्वार्ता लिने निर्णय गरेको थियो ।
क्यानले कार्यवाहक सचिव मल्लको संयोजकत्वमा ५ पाँच सदस्सीय समिति गठन गरेको थियो ।
समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिका अन्तराष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधि रहेका छन् ।
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको थियो ।
क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।