काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईले नेपाललाई १ सय २८ रनको लक्ष्य दिएको छ ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्यो ।
युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन तथा थिर्था सतिसले ४७ रन जोडिन ।
कभिसा इगोडेजले २२ रनको योगदान गरिन् ।
नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् ।
सबनम राई, सिता राना मगर र संगिता राईले एक–एक विकेट हात पारे ।
६ टिम सहभागी यस प्रतियोगिताबाट केवल एक टोली ग्लोबल छनोटमा स्थान बनाउने हुँदा नेपालका लागि युएईविरुद्धको खेल गर या मरको अवस्था रहेको छ ।
नेपाललाई युएईविरुद्ध केवल जितको मात्र खाचो छैन, उसले नेट रनरेटमा समेत आफूलाई माथि उभ्याउनुपर्नेछ ।
ग्लोबल छनोटका लागि नेपालले युएईलाई १० रन अथवा १० बलको अन्तरमा पराजित गर्नु पर्नेछ ।
अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल मात्र खेल्न बाँकी छ ।
अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
यता नेपाल र हङकङले समान ६–६ अंक जोडेपनि नेपाल नेट रन रेटमा अगाडी छ ।
ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले पनि आजै अन्तिम खेल कुवेतविरुद्ध खेल्दैछ ।