काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आयोजक युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
६ टिम सहभागी यस प्रतियोगिताबाट केवल एक टोली ग्लोबल छनोटमा स्थान बनाउने हुँदा नेपालका लागि युएईविरुद्धको खेल गर या मरको अवस्था रहेको छ ।
नेपाललाई युएईविरुद्ध केवल जितको मात्र खाचो छैन, उसले नेट रनरेटमा समेत आफूलाई माथि उभ्याउनुपर्नेछ ।
ग्लोबल छनोटका लागि नेपालले युएईलाई १० रन अथवा १० बलको अन्तरमा पराजित गर्नुपर्नेछ ।
अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल मात्र खेल्न बाँकी छ ।
अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
यता नेपाल र हङकङले समान ६–६ अंक जोडेपनि नेपाल नेट रनरेटमा अगाडी छ ।
ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले पनि आजै अन्तिम खेल कुवेत विरुद्ध खेल्दैछ ।