काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले तेस्रो जित दर्ता गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमती प्रदेशलाई ३ विकेटले पराजित गर्दै लुम्बिनीले तेस्रो जित हात पारेको हो ।
जितसँगै लुम्बिनीको फाइनलको सम्भावना बलियो भएको छ ।
जितका लागि चाहिएको १ सय ९४ रन लुम्बिनीले ४६ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
कप्तान देव खनालले सर्वाधिक ६७ रन जोड्दा लुम्बिनीको जित सुनिश्चित भएको थियो ।
प्रज्वल थापाले ३४ रनको योगदान गरे । वासिर अहमदले ३१ रनमा अविजित रहे ।
बागमतीका गौतम केसीले सर्वाधिक ३ विकेट हात पार्दा प्रतिस जिसी, क्रिस कार्की र तिलक भण्डारीले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४७ ओभरमा सबै विकेट गुमाउदै १ सय ९३ रन जोडेको थियो ।
बागमतीका लागि विवेक मगरले ४०, प्रशान्त महतले ३६ तथा विपिन शाहीले २४ रन जोडेका थिए ।
लुम्बिनीका विशाल विक्रम केसीले सर्वाधिक ४ विकेट हात पारे ।
मोहम्मद हुसेन र कमल वलीले दुई–दुई विकेट चट्काए । दुर्गेश गुप्ता र राहुल चौधरीले एक–एक विकेट लिए ।