काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आईतबार आयोजक युएईविरुद्ध खेल्नेछ ।
नेपालको लागि युएईविरुद्धको खेल गर या मरको अवस्था हुनेछ ।
किनभने ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र हात पारेर हुदैन नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ ।
प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ ।
अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल खेल्न बाँकी छ ।
अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ ।
यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल अगाडी छ ।
ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आईतबार नै कुवेत विरुद्ध खेल्नेछ ।
मलेसिया (२ अंक), भुटान (२ अंक) र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।