काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा २ सय ४१ रनको लक्ष्य लुम्बिनीले ४८ दशमलब ३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।
लुम्बिनीलाई जित दिलाउन कप्तान देव खनालले ९२ रन जोडे । उनले १ सय ३२ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।
वासिर अहमदले ३८ तथा विराट भण्डारीले ३२ रनको योगदान गरे ।
सुदुरपश्चिमका आकाश चन्दले ३ तथा शेर मल्लले २ विकेट लिए । नरेन्द्र साउद तथा खडक बोहराले एक–एक विकेट हात पारे ।
यस अघि टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ४० रन जोड्यो ।
सुदुरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ६४ रनको योगदान गरे । जोशीले ७६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
बशन्त कार्कीले ७६ बल खेल्दै ५७ रन जोडदा ४ चौका र २ छक्का हिर्काए ।
राहुल भण्डारीले ३७ रनको योगदान गरे ।
लुम्बिनी प्रदेशका मोहम्मद हुसेनले सर्वाधिक ४ विकेट हात पार्दा दुर्गेश गुप्ताले २ विकेट लिए ।
राहुल चौहान, वासिर अहमद र विशाल विक्रम केसीले एक–एक विकेट हात पारे ।
यसअघि लुम्बिनी प्रदेशले कर्णालीविरुद्ध १ सय ४० रनको पराजय भोगेको थियो । तर गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।
सुदुरपश्चिमले पहिलो खेलमा भने प्रदेश नं. २ विरुद्ध २ विकेटको पराजय भागेको थियो ।