काठमाडौं । सोनु अन्सारीको शतकको मदतमा प्रदेश नं. १ ले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं. २ लाई ७ विकेटले पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा जितका लागि चाहिएको २ सय १२ रनको लक्ष्य प्रदेश १ ले ४४ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश १ को यो लगातार तेस्रो जित हो । यस जितसँगै प्रदेश १ ले फाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
यस अघि प्रदेश १ ले कर्णाली प्रदेशलाई ७६ रन तथा बागमती प्रदेशलाई २६ रनले पराजित गरेको थियो ।
प्रदेश १ लाई जित दिलाउन सोनु अन्सारीले १ सय १९ रनको अविजित इनिङ्स खेले । अन्सारीले १ सय ४५ बलको सामना गर्दा १४ चौका र ३ छक्का प्रहार गरे ।
जारी प्रतियोगितामा यो दोस्रो शतक हो । यस अघि बिहीबार सुदुरपश्चिमका अर्जून साउदले प्रदेश २ विरुद्ध नै शतक प्रहार गरेका थिए ।
प्रदेश १ का लागि दिपेश कँडेलले ३३ तथा विवेक आनन्द मेहताले २४ रन जोडे ।
प्रदेश २ का विवेक यादव, प्रदिप पासवान र तृत राज दासले एक–एक विकेट हात पारे ।
यस अघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश २ ले ४८ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ११ रनको योगफल तयार पारेको थियो ।
प्रदेश २ का लागि कप्तान विवेक यादवले सर्वाधिक ७० रनको योगदान गरे । यादवले ७१ बलको सामना गर्दा ४ चौका र ६ छक्का प्रहार गरेका थिए ।
रोहन विकले ५९ बलमा ६ चौका र २ छक्काको मदतमा ४७ रन जोडे ।
समसद मनसुरीले १६, आदिल अन्सारीले १३ र प्रदिप पासवानले १० रन बनाए ।
प्रदेश १ का लागि दिपेश कँडेलले सर्वाधिक ३ विकेट हात पारे ।
दिपक जोशी र गौरव कटुवालले समान दुई–दुई विकेट लिए । अभिनय राजवंशीले एक विकेट हात पारे ।
यस अघि प्रदेश २ ले आफ्नो पहिलो खेलमा सुदुरपश्चिमलाई २ विकेटले पराजित गरेको थियो ।