काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन जोड्यो ।
मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन् ।
मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान गरे ।
नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन् ।
कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।
ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले आज मलेसियाविरुद्ध जित हात पार्नुपर्नेछ ।
छनोट अन्तर्गत नेपालले तीन मध्ये दुई खेलमा जित तथा एक खेलमा पराजय भोग्दै चार अंक जोडेको छ ।
यता मलेसियाले भने तीन मध्ये केवल एक खेलमा जित हात पारेको छ ।
अंक तालिकामा भने आयोजक युएई लगातार तीन खेल जित्दै ६ अंक सहित शीर्ष स्थानमा रहेको छ ।
यता नेपाललाई पराजित गरेको हङकङले पनि दुई खेल जित्दै चार अंक जोडेको छ । तर नेटरन रेटका आधारमा नेपाल भन्दा पछि तेस्रो स्थानमा रहेको छ ।
भुटानले पनि तीन मध्ये एक खेल जित्दा कुवेतले भने तीनवटै खेलमा पराजय भोगेको छ ।