काठमाडौं । नेपालमा पहिलो पटक प्याराग्लाइडिङ खेलको विश्वकप हुने भएको छ । नेपालमा आगामी कार्तिक दोस्रो साता 'फस्ट नेपाल प्याराग्लाइडिङ एक्कुरेसी विश्वकप' हुने भएको हो ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा हुने विश्वकप कार्तिक १५ देखी १९ सम्म हुनेछ । प्रतियोगिता स्याङ्गजाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।
प्रतियोगितामा पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र ईरानको सहभागिता रहने आयोजकले जनाएको छ ।
टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्ने छ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ से.मि.को हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिताका विजेताले १५ सय, दोस्रोले १२ सय र तेस्र्ले ७ सय युरो प्राप्त गर्ने छन् । ब्यक्तिग तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् ।
नेपाल भ्रमण बर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा बृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए । यस्तै यस स्थानलाई प्याराग्लाइडिङ ट्रेनिङ्ग सेन्टरको रुपमा समेत विकास गरि रहेको संघले जनाएको छ । नेपालले यसअघि पनि यस स्थानमा एक्युरेसीको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ ।
नेपालले इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेम्समा रजत पदक जितेको थियो । यस्तै नेपालले क्रस कन्ट्रीमा आफुलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ । एसियन गेम्सअघि चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाईना लिनझाउ प्याराग्लाइडिङ प्रि – बिश्व कपमा नेपालका बिशाल थापाले नेपालका लागि कास्य पदक दिलाउन सफल भएका थिए ।