काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा मालीले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा स्वर्ण जित्नु नेपाललाई चुनौती रहेको बताएकी छिन् ।
सेन्ट्रल जोनको प्रशिक्षण दौरान संचारकर्मीसँग कुरा गर्दै स्पाइकर प्रतिभाले साविक विजेता नेपाललाई उपाधि रक्षाको लागि चुनौती रहेकी बताएकी हुन् ।
'हाम्रो लक्ष्य स्वर्ण जित्नु हो । हामी साविक विजेता हौँ । त्यसैले लक्ष्य स्वर्ण हो । हाम्रो लागि यो चुनौती हो जस्तो लाग्छ,' प्रतिभाले भनिन् ।
सेन्ट्रल जोन बंगलादेशको ढाकामा आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।
सेन्ट्रल जोनमा नेपाल साविक विजेता समेत हो । नेपाली महिला टोलीले २०१९ को उपाधि जितेको थियो ।
प्रतियोगिताका लागि नेपाली टोलीले आइतबारबाट तयारी सुरु गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सुरु प्रशिक्षणका लागि नेपाल भलिबल संघले २० खेलाडीलाई बोलाएको छ ।
प्रतिभाले अहिले टिमको समस्या फिटनेस रहेको समेत बताईन् ।
'सबैजना चाड मनाएर आउनु भएको छ । त्यसैले फिटनेस अली कमजोर छ,' उनले भनिन् ।
प्रतिभाले चोटबाट मुक्त भएपछि आफुलाई पहिले भन्दा राम्रो गर्न सक्छु जस्तो लागेको समेत बताईन् ।
'चोट ठिकै छ, अलिअलि दुख्छ तर खेलिरहेको छु,' उनले भनिन्, 'जति सक्दो मेहेनत गर्छु । पहिले भन्दा राम्रो गर्न सक्छु जस्तो लाग्छ ।'
घुँडाको चोटबाट मुक्त भएपछि प्रतिभाको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हुनेछ ।