काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि जित्ने तरीकाले अभ्यास गर्ने बताएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिला भलिबल टोलीको आइतबारबाट सुरु भएको अभ्यासका क्रममा प्रशिक्षक भट्टले राष्ट्रलाई स्वर्ण पदक दिलाउने योजनाका साथ अघि बढ्ने बताए ।
‘हामीले यस अघि स्वर्ण पदक ल्याएका छौँ । त्यसको शाख जोगाउनका लागि तथा फेरि पनि राष्ट्रलाई स्वर्ण दिलाउन योजना अनुसार अघि बढ्छौ । त्यसमा हाम्रा खेलाडीहरु पनि मोटिभेटेट छन्,’ भट्टले भने ।
यस अघि नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि हात पारेको थियो । उनले खेलाडीहरुको फिजिकल फिटनेसलाई ध्यानमा राखेर अभ्यास सुरु गरिएको बताए ।
प्रशिक्षक भट्टले सहभागि टोलीको बारेमा पनि अध्ययन गर्ने र सोही अनुसार योजना बनाउने जानकारी गराए ।
अभ्यासका लागि नेपाली टोलीसँग करिब ४० दिनको समय रहेको र एसियन च्याम्पियनशीपका लागि छनोटमा परेका खेलाडीहरुलाई नै अभ्यासका लागि बोलाइएको छ ।
प्रशिक्षक भट्टका अनुसार चौथौ हप्तामा खेलाडीहरुको अन्तिम छनोट हुनेछ ।
‘२० जनामध्ये तेस्रो हप्तामा हामी १५ जनामा झार्छौ । र चौथो हप्तामा अन्तिम छनोट हुन्छ अनि त्यसपछि बन्द प्रशिक्षण हुन्छ,’ उनले भने ।
डिसेम्बर २३ मा प्रतियोगिता सुरु हुने भएकोले नेपाली टोली टोली डिसेम्बर २० मा ढाका प्रस्थान गर्ने योजना रहेको छ र त्यस अघि ५३ वटा ट्रेनिङ सेसन रहने छ ।
प्रशिक्षक भट्टका अनुसार खेलाडीहरु प्रतियोगिताका लागि प्रोत्साहित छन् ।
‘यस भन्दा अगाडी हामीले अन्तर्राष्ट्रिय सहभागिता जनाउदा पदक ल्याउछौ कि ल्याउदैनौ भन्ने दोधार हुन्थ्यो, तर हामीले हिजोको दिनमा स्वर्ण पदक ल्याएका छौँ । जुन परिणाम छ त्यसलाई यथावत राख्नका लागि पनि हामीले अभ्यासमा ध्यान दिनुपर्छ भन्ने मानिसकता खेलाडीहरुमा छ,’ प्रशिक्षक भट्टले थपे ।
उनले प्रशिक्षकले पनि आगामी दिनमा प्रतियोगितामा सफलता हात पार्ने हिसावले योजनावद्ध तरीकाले अभ्यास गराइरहेको बताए ।
‘यस प्रतियोगितामा राम्रो गर्यो भने भोली एसियन गेममा नेपालको शीर्ष १२ भित्र पर्न तथा र्यांकिङमा पर्न तथा नेपालको भलिबल प्रोमोट गर्न के गर्न सकिन्छ, हामी सेन्ट्रल जोनमात्र नभएर आउने एसियन गेम तथा पाकिस्तानमा हुने साउथ एसियन गेममा पनि स्वर्ण पदक जित्ने हिसावले अभ्यासलाई योजनावद्ध गरेका छौ ।’
उनले प्रतियोगिताको लागि तयारी समय कम भएपनि खेलाडीहरु शारीरिक रुपमा फिट रहेको बताए ।
चाडपर्वले गर्दा अभ्यास बन्द भएकाले खेलाडीहरुको फिजिकल फिटनेस परिक्षण गरी सोही अनुसार अघि बढ्ने प्रशिक्षक भट्टको योजना छ ।
उनका अनुसार घाइते खेलाडीका लागि फिजियोको व्यवस्था गर्ने कुरा भएको छ, यदि घाइते खेलाडीहरु ठिक भएनन भने उनीहरुको ठाँउमा अरु खेलाडीलाई ल्याइनेछ ।