काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा बाह्रबिसे कप २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
मंसिर १६ देखि १८ गतेसम्म हुने प्रतियोगिता खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा हुनेछ ।
प्रतियोगितामा चार वटा इभेन्ट्स्हरु समावेश गरिएको आयोजकले जनाएको छ ।
पुरुष एकल, पुरुष डबल्स (शीर्ष एकल २० बाहेक), महिला एकल र भेट्रान्स डबल्स (४५ वर्षमाथि) को इभेन्ट्स समावेश गरिएको छ ।
पुरुष एकलतर्फको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दोस्रो हुनेले ६५ हजार र तेस्रो हुने दुवै जनाले समान ३०–३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पुरुष डबल्सको विजेताले १ लाख, दोस्रो हुने टोलीलाई ५० हजार र तेस्रो हुनेलाई २५–२५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो ।
महिला एकलको विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान १२ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भेट्रान्स डबल्स (४५ वर्षमाथि) को विजेता, उपविजेता र तेस्रो हुनेले गिफ्ट ह्याम्परसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनको लागि ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको प्रायोजन सिल्क ग्रुपले गरेको छ । प्रतियोगिताको लागि सिल्क ग्रुपको तर्फबाट अन्तर्राष्ट्रिय स्तरको १० लाख रुपैयाँ बराबरको दुई वटा सेन्थेटिक म्याट आयोजकलाई प्रदान गरिएको छ ।