एजेन्सी ।
प्रतियोगिता सुरु हुन अगाडि भारत उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी थियो, तर अन्त्यमा यही टिम समूह चरणबाटै बाहिरियो ।
भारत ट्वान्टी ट्वान्टी विश्वकप २०२१ को सेमिफाइनल पनि पुग्न सकेन ।
नामिबियाविरुद्धको खेल त उसले जित्यो, तर त्यस अगाडि नै भारत अन्तिम चारमा नपुग्ने निश्चित भइसकेको थियो ।
आफ्नो सुरुआती दुई खेलमा पाकिस्तान र न्युजिल्यान्डविरुद्ध पराजित रहेपछि त्यो नै भारतका लागि सबैभन्दा ठूलो धक्का रह्यो ।
प्रतियोगिता सुरु हुन अगाडि भारतले ११ महिना लगातार खेलेको थियो र ती सबैमा राम्रो नतिजा पनि निकालेको थियो ।
अष्ट्रेलिया, इंग्ल्यान्ड र श्रीलंकाविरुद्ध टेस्ट सिरिज होस अथवा वान डे सिरिज, भारतको प्रदर्शन उम्दा थियो ।
भारतीय टिमका सबै सदस्यले विश्वकप सुरु हुन अगाडिको इन्डियन प्रिमियर लिगमा पनि राम्रै गरे ।
तर यही टिम किन साहरजा, अबुधाबी र दुबाईमा कमजोर जस्तै रह्यो त ?
यसको ठीक उत्तर प्रशिक्षक रवि शास्त्रीले दिएका छन् ।
यस प्रतियोगितासँगै भारतीय टिमसँग उनको आवद्धता पनि सकिएको छ ।
उनले भनेका छन्, ‘भारतीय टिमले लगातार धेरै खेलेको थियो । परिवारबाट पनि धेरै टाढा रह्यो । यस्तोमा सबै खेलाडी शारीरिक मात्र होइन, मानसिक रूपमा पनि निकै थकित थिए ।’
शास्त्रीको तर्क थियो, सायद विश्वकप सुरु हुन अगाडि ती खेलाडीलाई केही आरामको आवश्यकता थियो ।
उनले यस्तो पनि भने, ‘विश्वकप जस्तो प्रतियोगिताले जस्तै खेलाडीलाई पनि दबाबमा राख्छ । भारतीय खेलाडी मात्र अपवाद रहेनन् । थकित हाम्रा खेलाडीले त्यो दबाब सहनै सकेनन् ।’
–बीबीसीको सहयोगमा ।